उर्लाबारी, ३१ साउन । नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिव तथा समाजसेवी उर्लाबारी नगरपालिका – ८ निवासी रुपेश खतिवडाले आज आफुले अध्ययन गरेको अरनिको माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रबृति वितरण गर्नुभएको छ ।
आफुले एसएलसी उतिर्ण गरेको विद्यालयका कक्षा १ देखि ९ कक्षाका जम्मा ९ जना विद्यार्थीलाई खतिवडाले एक सेट विद्यालय पोशाक र जनही रु ५ सय नगद छात्रबृति वितरण गर्नुभएको हो । उहाँले बिगत ४ वर्षदेखी छात्रबृति वितरण गर्दै आउनु भएको छ ।
विद्यालयमा आज भएको बहुउद्देश्यीय सभाहल उद्घाटन तथा छात्रबृति पुरस्कार वितरण कार्यक्रममा प्रमुख आतिथी उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेलसहित पूर्व विद्यार्थी खतिवडाले पुरस्कार र छात्रबृति वितरण गर्नुभएको थियो । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको प्रोत्साहनका लागि प्रत्येक वर्ष आफुले छात्रबृति प्रदान गर्दै आएको र आगामी दिनमा यसलाई बृद्धि गर्दै लैजाने खतिवडाले जानकारी दिनुभयो ।
विद्यालय परिसरमा रहेको बहुउद्देश्यीय सभाहलको मेयर खरेलले उद्घाटन गर्नुभयो । खरेलले विद्यालयबाहेकका कार्यक्रमलाई पनि उपयोग गर्न मिल्ने गरी सभाहल सञ्चाल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सभाहलको उचित प्रयोग हुनुपर्ने बताउनुभयो ।