
उर्लाबारी ४ जेठ
उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा रहेको बिमा औषधि पसलमा अस्पताल प्रशासनकाे सेटिङमा क्लिनिकबाट बिरामीलाई औषधि किन्न बाध्य पारेको भन्दै तालाबन्दी गरिएको छ ।
बिमामा पाइने औषधिहरु नपाएको र नजिकको क्लिनिक पसलमा किन्न बाध्य बनाएको भन्दै सचेत नागरिकहरुको समूहले बिहिबार तालाबन्दी गरेको हो । अस्पताल प्रशासनकै मिलोमतोमा अन्य क्लिनिकहरुमा औषधि किन्नु परेको सेवाग्राहीहरुले बताएका छन् । बिमाबाट पाउने औषधि तुरुन्त पाउने व्यवस्था नमिलाएसम्म तालाबन्दी नखोल्ने र अस्पताल प्रशासनले गम्भिरतापूर्वक नलिए प्रशासनका तालाबन्दी गर्ने अभियानकर्मी मोहन खनालले बताए ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविकुमार शाहसँग सम्पर्क गर्दा उनले तालाबन्दी मात्र गरेर समस्याको समाधान नहुने भएकाले तालाबन्दि खोलेर सेवा सुचारु गरिने बताए । अस्पतालमा अन्य धेरै विरामीहरु भएकाले उहाँहरुलाई सेवाबाट बन्चित नगराउने हेतुले ताला खोलीएको हो । यस्तै उनले अस्पताल फार्मेसीमा स्थानियहरुले गरेको तालाबन्दीप्रति दुखेसो पोख्दै भने’ अस्पतालको बिमा फार्मेसीमा धेरै कमजोरीहरु छन्, जसले गर्दा हामी प्रशासनले अनावश्यक दु:ख पाउनुपरेको छ । हामीले यस विषयलाई गम्भिरताका साथ लिएका छौँ, यस विषयमा भोली आकस्मिक अस्पताल व्यवस्थापन समितिको बैठक बस्दैछौँ ।” यस्तै उनले प्रशासनको मिलोमत्तोमा औषधिहरु लेखिने गरेको विषयप्रति कटाक्ष गर्दै भने ‘ नेपाल सरकारले उपलब्ध गराएका १ हजार ३ सय वटा औषधीहरु बिमामा उपलब्ध छन् । हामीले विरामीको अवस्था हेरी आवश्यकता अनुसार औषधीहरु लेखेका हुन्छौँ । सबै औषधीहरु विमामा उपलब्ध नहुन पनि सक्छन् । यसमा कसैको सेट्टिङ् हुँदैन ।’
मेसु शाहले अस्पतालमा प्रेसर, सुगर, दम लगायतका दिर्घरोगीहरु दिनहुँ औषधी लिन आएपनि बिमा फार्मेसीले पटक पटक औषधीहरु उपलब्ध नभएको भन्दै सेवाग्राहीलाई फर्काएका गुनासाहरु आउने गरेको बताए । उनले यस्ता धेरै गुनासाहरुलाई तत्काल प्रशासनको तर्फबाट फार्मेसी संचालकलाई दबाब दिएर भएपनि औषधिहरु उपलब्ध गराउदै आएको बताए ।पटकपटक फार्मेसी संचालकको लापरवाहीले अस्पताल प्रशासन बदनाम हुने गरेको बताउदै उनले भने ‘ हाल बिमा फार्मेसी अस्पतालको नियन्त्रणमा छैन, ३ वर्षको लागी ठेक्का पाएर सेवा प्रदान गर्दै आएपनि फार्मेेसीको लापरवाहि अब सह्य हुँदैन । आवश्यकता अनुसार ठेक्का सम्झौता खारेजी गरी अस्पतालले आफै बिमा फार्मेसी चलाउने बताए । ”
यस्तै उनले नेपाल सरकारको अस्पताल संचालन निर्देशिका र बिमा बोर्डको नियम अनुसार अस्पतालले बिमा फार्मेसी आफै संचालन गर्नुपर्ने बताउदै ठेक्का दिन नपाउने व्यवस्था भएको बताए । उनले समय सापेक्ष विभिन्न विषयहरु परिवर्तन गरिनुपर्ने धारणा राख्दै भोलीको बैठकले ठेक्का सम्झौता रद्घ गरिन सक्ने संकेत गरेका छन् । उनले अस्पतालको नियन्त्रण र व्यवस्थापनमा संचालन हुने बिमा फार्मेसीमा यस्तो लापरवाही नहुने बताएका छन् ।
स्राेत : मंगलबारे पेज