
उर्लाबारी १९ जेठ
सर्प संरक्षणमा जुटेका युवाहरुलाई उर्लाबारी नगरपालिकाकाले उद्घार सामग्री उपलब्ध गराएको छ ।
मंगलबार उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले तीनजना युवालाई सर्प उद्घार सामग्री हस्तान्तरण गरे । ५० हजार मुल्यका सामग्रीहरु नगरपालिकाले उपलब्ध गराएको हो । विगत ७ वर्षदेखि उर्लाबारीका तीन युवा सर्पको उद्घार र संरक्षण गर्दै आएका छन् । गणेशकुमार श्रेष्ठ, देव राई र रमेश भण्डारीको समुह सर्प संरक्षणमा जुटेको छ ।
सर्पको उद्घारसँगै उनीहरुले मानिसलाई टोक्नसक्ने जोखिमबाट पनि बचाइरहेका छन् । कसैले सर्प देख्नासाथ त्यसको नियन्त्रणका लागि मोवाईल नम्बर ९८०७०६५६६५ मा सम्पर्क गर्न उद्घारकर्ताहरुले सबैमा आग्रह गरेका छन् । सर्प उद्घारकर्ता गणेशकुमार श्रेष्ठको भनाईमा सामान्यता सर्प भन्ने बित्तिक्कै आम मानिसमा एक किसिमको डरको तरङ्ग फैलिने गर्छ । सर्प देख्नासाथ मानिस तर्सिने, कराउने, भाग्ने वा प्रतिकार गर्ने गर्छन् । यस किसिमको प्रवृत्ति मानवविकास क्रमसँगै विकसित भएको तर्क बताइन्छ । वास्तवमा हामी सर्पदेखि यति धेरै डराए पनि सर्प मानिसको शत्रु नभएर पर्यावरणको एक अभिन्न अङ्ग हो भन्ने बुझ्नु जरूरी छ ।
यिनीहरू आहारा श्रृङ्खलामा शिकारी र शिकार दुवैको भूमिका निर्वाह गर्दछन् भने हाम्रो अन्नबाली नोक्सान गर्ने मुसाको शिकार गरी तिनको सङ्ख्या नियन्त्रण गर्न समेत सर्पको विशेष भूमिका रहने गर्दछ ।