
उर्लाबारी २१ जेठ
मोरङ कानेपोखरीमा जेठ २५ गते १ दिवसीय धिमाल जातिको मौलिक खाना संस्कृतिको प्रचारप्रसार र प्रर्वद्धन गर्ने उद्देश्यका साथ धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल महोत्सव संचालन हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि कानेपोखरी धिमाल समितिले महोत्वसको आयोजना गर्ने भएको हो । महोत्सव हुने स्थान भने कानेपोखरीको ऐतिहासिक पोखरी, कानेपोखरी-७ मा हुने भएको छ । धिमाल समुदाय पहिचान बोकेको दुईवटा आँखा गुमेको योद्धा धिमालको मुर्ति, मुखमा माछा च्यापेको काने बकुल्ला र धिमाल जातीले बढी प्रयोग गर्ने एक प्रकारको साग रोइतारनीको मुर्ति स्थापना गरिने आयोजक समितीका अध्यक्ष प्रकाश धिमालले बताए । थप्दै भन्छन् ‘यस कार्यक्रम गर्नुको मुख्य उद्देश्य धिमाल समुदायको परम्परा, संस्कृति, खाना र पहिरन लगायतलाई प्रर्वद्धन तथा जगेर्ना गर्नु हो ।’
महोत्सव सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरेको आयोजनाले जानकारी दिए । महोत्सवमा धिमाल जाती विशेष परिकार चिचिरी, गेन्द्रो, तोले, चुदुर (घुंगी), पायाको बिहा(सुंगुरको मासु), गोरा (रक्सी), हाया (माछा) लगायतका परिकार रहनेछ । धिमाल कलाकारबाट साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
महोत्सवमा गायिका मेचु धिमाल, गायकहरु सन्जिव धिमाल, बिक्रम धिमाल, सुर्य धिमाल, स्थानिय कलाकार रोशन धिमाल, विभिन्न डान्सरहरु लगायतले प्रस्तुति दिने भएका छन् ।