उर्लाबारी २७ जेठ
आर्थिक वर्ष २०८०/८१ को योजना तर्जुमा तथा बजेट निर्माणका विषयमा उर्लाबारी नगरपालिकाले सरोकारवालाहरुसँग छलफल तथा सुझाव लिने कार्य भैरहेकाे छ ।
स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गर्ने हिसाबले जाेरदार लागि परेकाे हाे । बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले बताए । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको मेयरकाे भनाइ रहेको थियाे ।
नगरपालिकाले एक सातायता नगरमा क्रियाशील राजनीतिक दलहरु, बैंक तथा वित्तीय संस्था, शिक्षक कर्मचारी, संघसंस्थाका प्रतिनिधि, आदिवासी जनजाति, दलित संघ संगठन, जेष्ठ नागरिक, अन्तर पार्टी महिला सञ्जाललगायतसँग आगामी आर्थिक वर्षको योजना कार्यक्रम तथा बजेटका विषयमा सुझाव लिएको हो । कार्यक्रममा सहभागि सरोकारवालाहरुले भौतिक निर्माण, कृषि, शिक्षा, स्वास्थ्यजस्ता महत्वपुर्ण क्षेत्रलाई बढी समेट्ने गरी बजेट निर्माण गर्न नगर प्रमुख गंगाप्रसाद खरेलसमक्ष आग्रह गरेका थिए ।
नगर प्रमुख खरेलले सर्वपक्षीय सुझाव र भावनलाई समेट्दै नगरपालिकाले बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । उर्लाबारी नगरपालिकाले प्राथमिकताका आधार तोकेर सम्बन्धित विषयमा रायसुझाव माग गरेको छ । कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी रायसुझाव माग गरेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले उल्लेख गरेका थिए ।
‘पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ’, उहाँले भन्नुभयो, ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’
छलफलमा नगरपालिकाका तर्फबाट नगर प्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र अधिकृत मुरारी घिमिरेको सहभागिता रहेकाे थियाे ।