विजय धिमाल
उर्लाबारी २ असार
मोरङको उर्लाबारी नगरपालिका–३ धिमाल परियोजाना दश विगेमा धिमाल जातिको महान पर्व जातिरि/सिरिजात पर्वको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । प्रदेश नम्बर-१ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन भइ सम्पन्न भएकाे हाे । कार्यक्रममा केन्द्रले स्थानिय जनप्रतिनिधि धिमाल अध्यक्ष, सदस्य, युवा समाजसेवि र धिमाल युवा प्रतिभा पुरस्कार सम्मान प्रदान गरेको छ ।
जसमा धिमाल युवा प्रतिभा पुरस्कार झापा मेचिनगर-८ माइपारीका राजेस धिमाललाई प्रदान गरिएको छ । मेला तथा साँस्कृतिक कार्यक्रममा मोरङ, झापा, सुुनसरी काठमाण्डौ जिल्ला समेतबाट धिमाल लगायत गैह्र धिमालहरु हजारौंको संख्यामा सहभागी थिए । साँस्कृतिक कार्यक्रमा बिभिन्न धिमालटोलहरुबाट आएका धिमाल नृत्य, गायन विधाका धिमाल राष्ट्रिय कलाकार संजिव धिमाल, गायक डिकबहादुर धिमाल, सुरेस धिकाल, कलाकार बिक्रम धिमाल लगायतले मनोरञ्जन दिलाएका थिए ।
विक्रम सम्वतको नयाँ वर्ष प्रवेशसंगै वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनी राजारानी धिमाल डाँडाबाट जात्रि पर्व प्रारम्भ हुने गर्दछ ।
मोरङ, झापा, सुुनसरी र काठमाण्डौ जिल्ला लगायत नेपाल भर रहेका एक साय भन्दा बढी धिमाल बस्तिहरुमा फरक फरक गतेमा जातिरि/सिरिजात मनाउने गरिन्छ । सबै ठाउँमा मनाईसकेपछि असार २ गते धिमाल जातीय बिकास केन्द्र परियोजना स्थल दश बिगेमा जात्रि सम्पन्न हुनेगरेको बिकास केन्द्रका अध्यक्ष लाेकबहादुर धिमालले जानकारी दिए । उनले भने, धिमाल समुदाय भरि कुनै ठाउँ पुजा त कुनै ठाउँ मेला लगाउदै २ महिना सम्म लगातार मनाउदै आएका छन ।
अतितमा जंगलका हिंस्रक जनावर, अनेकौँ रोगव्याधि, महप्रलय, अनाबृष्टि, अतिबृष्टि, अनिकाल, खडेरी, आगलागि लगायत अनेकौँ संकटहरुबाट बच्न र बचाउनका खातिर ग्रामथान/महाराजथानमा देरादिर(भगवान)घरदेखि केहिपर वा धिमाल समुदायको पूर्वपट्टी थान र्निमाण गरि वर्षको एक पटक पुजाआजा परापूर्वकादेखि हाल सम्म जात्रि मनाउनदै आएको धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष केदार धिमाल बताउछन ।
उनका अनुसार जात्रिमा ग्रामथान तथा महाराजथानमा पुजाआजा गर्दा फलफुल लगायत सुँगुर, बोका, बाख्रा, हाँस, कुखुरा, परेवा आदिको बलिदिने र रक्सी पनि चढाउने चलन रहेको छ । मूख्य बाजा ढोल बजाएर प्रतिस्पर्धा गरि प्रथम, द्वितिय, त्रितिय र सानत्वना हुनेलाइ पुरस्कृत गरिन्छ । ढोल प्रतिस्पर्धामा छिमेकी गाँउ टोलका धिमाल जाति नै हुन्छन । यो वर्ष ढोल प्रतियोगीतामा ४०/४५ भन्दाबढी ढोलहरुको सहभागी रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईकाे प्रमुख अतिथि, बिशिस्ट अतिथि प्रदेश नम्बर १ की सांसद विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, पथरीशनिश्चरे नगरपालिकाका मेयर माेहन तुम्बापाे लगायत रहेका थिए । धिमाल जातीय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लाेकबहादुर धिमालको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।