
उर्लाबारी ३ असार
`हाम्रो प्रत्येक गोल, लागुऔषध विरुद्धको बोल’ नाराका साथ मोरङको उर्लाबारीमा विद्यालय स्तरीय अन्डर १४ फुटबल प्रतियोगिताको उपाधि सुनपकुवा माध्यमिक विद्यालयले जितेको छ । उर्लाबारी नगरपालिकाको सहयोग र उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी-६ स्थित राधिका माविको खेलमैदानमा जारी प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा उर्लाबारी-२ वडाको सुनझोडा माध्यमिक विद्यालयले २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँग सुनपकुवाले ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सुनझोडाले ३१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनादेवी पौडेल खतिवडा, उर्लाबारी-२ का वडाध्यक्ष राजनकुमार कँडेल, ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकी, उद्योग बाणिज्य संघ कोशी प्रदेशका सदस्य प्रितम खड्गी, प्याब्सन उर्लाबारीका नगरअध्यक्ष दिनेश पोखरेल, प्याव्सन माेरङका उपाध्यक्ष सुरेन्द्र सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए ।
नयाँ फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिए । प्रतियोगिताबाट ३५ जना खेलाडी छनौट गरिएको र २ वर्षसम्म नियमित प्रशिक्षण प्रदान गर्ने लक्ष्य रहेको उनले बताए । प्रतियोगितामा उर्लाबारीका २५ वटा विद्यालयको सहभागिता रहेको थियो ।