उर्लाबारी ११ असार
विजय धिमाल
पथरीशनिश्चरे नगरपालिकाको आइतबार (असार १०) गते भएको १३ औ नगरसभाले पास गरेको बजेट पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक भएको छ ।
नगरसभाले संघ, प्रदेश र स्थानीय श्रोत गरी ७१ करोड १७ लाख ४१ हजार ८०० बजेट पास गरेको नगरको प्रवक्ता नवीन कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे हाे ।
बजेटमा आवास विहिन अति विपन्न परिवारलाई नगरपालिकाले दुई कोठे घर बनाइदिने कार्यक्रम रहेको नगर प्रमुख मोहन तुम्बापोले बताए ।
प्रस्तुत बजेट मध्ये शिक्षामा २ करोड ५० लाख, ९६ हजार, स्वास्थ्यमा १ करोड ८९ लाख ८५ हजार, कृषिमा ९४ लाख १० हजार ६००, पशुपंक्षी विकासमा ३९ लाख, लक्षित वर्गमा १ करोड १९ लाख, ७४ हजार १६६, खेलकुदमा ३७ लाख २० हजार, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १७ लाख, वन, वातावरण तथा संस्थागत सुदृढिकरण क्षेत्रमा २६ लाख रकम विनियोजन भएको छ । यस बाहेक भौतिक पूर्वाधार बिकास निर्माण, मर्मत तथा विपद् व्यवस्थापन क्षेत्रका विनियोजन गरिएको प्रस्तुत विज्ञप्तिमा उल्लेख छ ।
विपन्न परिवारको स्वास्थ्य उपचारको लागि १२ सय परिवारलाई निशुल्क स्वास्थ्य बिमा, प्राविधिक विषय अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक ऋण प्रदान गर्ने, दीर्घ रोगीलाई उपचार तथा फलफुल खर्च, वृधवृद्धालाई एम्बुलेन्स निशुल्क कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
फोहोर व्यवस्थापन, नगरको प्रशासनिक भवन जग्गा व्यवस्थापन, विपन्न परिवारसँग उपमेयर, पथरी बहुमुखी क्याम्पसलाई सञ्चालन अनुदान खर्च, माटो बचाउ अभियान लगायतको कार्यक्रम बजेटमा उल्लेख गरिएको ८ नं. वडा अध्यक्षसमेत रहेका नवीन कार्कीले बताए । बजेटमा पथरीको यलम्बर चोकमा यलम्बरको मूर्तिको लागि रकम विनियोजन भएको छ । यलम्बरको मूर्ति राख्न संघीय सरकारबाट आएको बजेटले प्लेट निर्माण भएपनि निर्माण कम्पनीले धोका दिएपछि बजेट फिर्ता गएको थियो ।
नगरपालिकामा भएको २५ करोड ३२ लाख बेरुजु रकम आर्थिक बर्ष २०७९/०८० मा १८ करोड ७६ लाख फर्छयोट गरिएको बिज्ञप्तिमा उल्लेख छ । यस आर्थिक बर्षमा नगरको न्यायिक समितिमा १६६ वटा मुद्धा परेकोमा १४४ वटा फर्छयोट गरेको २२ वटा बाँकी रहेको न्यायिक समितिको संयोजक समेत रहेका नगर उपप्रमुख देबिमाया काफ्लेकाे प्रतिवेदनमा उल्लेख छ ।
बजेट सार्वजनिक कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोले यो आर्थिक बर्षमा नगरको स्थानीय श्रोत ४ करोड १७ लाख संकलन भएको जानकारी दिए ।
कार्यक्रममा नगरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव शिक्षा बिभाग प्रमुख शालिग्राम काफ्ले, लेखा विभाग प्रमुख पिताम्बर वस्ती, २ नं. वडा अध्यक्ष नैनासिंह राई लगायत कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम सूचना संयोजक सन्तोष राईले सञ्चालन गरेका थिए । पत्रकार सम्मेलन एक दिन अघि नगरसभाकै दिन ५ जना खेलाडीलाई सम्मान गरिएको छ । पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ब्यवसायिक फुटबल खेलिरहेका ५ जना खेलाडीलाई सम्मान गरेको हो । फुटबल खेलाडी वडा नं. १ का दिपक राई, दिपा न्यौपाने, वडा नं. ४ की सरु लिम्बु, वडा नं. ७ का पुनम चेम्जोङ र वडा नं. १० का रुपा धिमाललाई सम्मान गरेको छ । उनीहरुलाई जनही २५ हजार रुपैयाँको नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान ओढाएर नगरप्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले लगायतले सम्मान गरेका थीए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय