विराटनगर ११ असार
जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारदेखि जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका सन्तानलाई बंशजका आधारमा नागरिकता वितरण गर्ने भएको छ । सोमबारबाट नागरिकता वितरण गर्ने तयारी भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै कोठाको व्यवस्था गरेको छ । उनका अनुसार सेवाग्राहीको भिड बढ्ने भएका कारण जिल्ला प्रशासन कार्यालयको १६ नम्बर कोठाबाट नागरिकता वितरण गर्ने व्यवस्था गरिएको हो ।
मोरङमा ६५ हजार हाराहारी नागरिकता लिन आउने अनुमानसहित जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै कोठाको व्यवस्था गरेको हो । २०६३ सालमा आएको टोलीमाजन्मका आधारमा नागरिकता लिनेको संख्या ३५ हजार हाराहारी थियो । ‘भीडभाड हुनसक्छ, धेरै भिड भयो भने टोकन लागु गर्छौं,’ पोखरेलले भने,‘ नागरिकता वितरणका लागि कोठा नम्बर १६ छुट्याएका छौं ।’
के–के चाहिन्छ कागजात
जन्मका आधारमा नागरिकता लिनेका सन्तानले बुबा–आमा दुवैको नागरिकता पेश गरेपछि मात्रै नागरिकता पाउनेछन् । जन्मसिद्धका सन्तानलाई नागरिकता लिनका लागि झन्झटीलो व्यवस्था प्रावधान छ ।
बुबा–आमाको नागरिकता अनिवार्य हुनुपर्ने, वडाको सिफारिस, बसाइँ सराई गरी आएको भए बसाईसराई दर्ता प्रमाण, स्थानीय बसोबास प्रमाणित पारिवारिक विवरण, व्यक्तीको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र पनि अनिवार्य गरेको छ ।
त्यस्तै बाबु– आमा र सन्तानबीचको फोटोसहितको सक्कल नाता प्रमाणित, बाबु र आमाको विवाह दर्ता प्रमाणितपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, कुनै पेसा वा व्यवसाय गरी बसेको भए सोको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा वा स्थायी बसोबास सिफारिस वा व्यवसाय दर्ता प्रमाणपत्र, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा र स्वघोषण पनि गर्नुपर्ने उल्लेख छ ।
बुबा-आमा मध्ये एक जनाको मात्रै जन्मसिद्ध नागरिकता छ भने सन्तानले त्यसका आधारमा नागरिकता बनाउन पाउने छैनन् । प्रशासनले बुबा–आमा दुवैको नागरिकता अनिवार्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय