उर्लाबारी ११ पुस
उर्लाबारीको किसान चौकदेखि टाँडी हुँदै रमिते जाने सडक निर्माणमा लापरबाही भएको पाइएको छ ।
सो सडकखण्ड अन्तर्गत किसानचौक–कान्छीचौक खण्डमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भएको पाइएको हो । प्रदेश सांसद, नगर प्रमुख, उपप्रमुख, इन्जिनियरसहितको टोलीले स्थलगत अनुगमन गर्दा मापदण्ड अनुरुपको काम नभएको फेला पारी निर्माणको मापदण्ड पूरा गरेर मात्र कार्य गर्न निर्देशन दिएको छ । ‘तीन–चार स्थानमा काम भइरहेकोमा एक स्थानमा गुणस्तरहीन कार्य गरेको पाइयो’ उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले बताए, ‘उक्त स्थानको निर्माण कार्य रोकेका छौं, ठेकेदार सम्पर्कमा आएपछि थप कुराकानी हुन्छ ।’ तोकिएको मापदण्डभन्दा बाहिर गएर कमसल किसिमको काम गर्न छुट नभएको उनले बताए । कमसल काम गरेको पाइएपछि उक्त स्थानको निर्माणका औजार नगर प्रमुखको गाडीमा हालेर ल्याइएको छ ।
सडकको ड्रेन निर्माणमा बालुवा, सिमेन्ट, गिटीको मात्रा नमिलाएको, मापदण्डभन्दा ठूला ढुंगाको प्रयोग गरिएको पाइएको मेयर खरेलले बताए । नालीको ढुंगा राख्ने तरिका गलत अपनाइएकाले कम गुणस्तरको काम भएको हो । प्रदेश सांसदद्वय उमाकान्त गौतम, शोभा चेम्जोङ पालुङ्वा, नगर प्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, पूर्वाधार विकास कार्यालय, मोरङका सवइञ्जिनियर लालबहादुर दाहाल, ल्याब टेक्निसियन जितेन्द्र लिम्बूलगायतले अनुगमन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय