उर्लाबारी १० माघ
मोरङको उर्लाबारी आमबारीस्थित सार्वजनिक माविले आइतबार ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय प्रांगणमा एक भव्य कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्ली आपागाइँको अध्यक्षतामा कार्यक्रम भएको थियो । सोक्रममा बोल्दै नगरप्रमुख खरेलले नगरभित्रका सामुदायिक विद्यालयहरुलाई उत्कृष्ट बनाउन निरन्तर अनुगमन गरिरहेको बताए । उहाँले मानव सभ्यताको विकास क्रममा शिक्षाको नै अहम् भूमिका हुने भन्दै विद्यालयले दिने शिक्षा र संस्कारले विद्यार्थीको भविष्य निर्धारण हुने उल्लेख गरे । नगर प्रमुख खरेलले विद्यालयमा आफ्ना बालबच्चालाई भर्ना गरेर मात्र अभिभावकको दायित्व पूरा नहुने भन्दै आफ्ना बालबच्चा र विद्यालयका शिक्षण क्रियाकलापप्रति चासो राख्न आग्रह समेतगरे । कार्यक्रममा विभिन्न विधा एवम् क्रियाकलापहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अखिलेश साहले जानकारी दिए । उनका अनुसार प्रदेश सांसद उमाकान्त गौतमद्वारा प्रदत्त शैक्षिक पुरस्कार, युवा प्रतिभा प्रस्फुटन प्रोत्साहन अक्षयकोष पुरस्कार, स्व।रामप्रसाद सुवेदी स्मृति अक्षयकोष पुरस्कार, मनु कस्मेटिक उर्लाबारीबाट प्रदत ३२ थान स्वीटर वितरण, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष ओम उप्रेतीबाट विद्यालय प्रथम पुरस्कार र शिक्षक देबिन्द्र कार्कीबाट प्रदत्त कक्षा प्रथम पुरस्कार वितरण गरिएको थियो ।
यस्तै, सो अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक गणेश सुबेदीको बिदाइ गरिएको थियो । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सामूहिक नृत्य, सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । उद्घाटन समारोहमा नगर उपप्रमुख मीना खतिवडा पौडेल, ९ नम्बर वडाध्यक्ष नरबहादुर मोक्तान, सदस्य गणेश किम्दाङ राई, प्रकाश कन्दङ्वा, नगर शिक्षा समिति सदस्य पुर्णप्रसाद घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।