
उर्लाबारी १४ माघ
मोरङको उर्लाबारी-८ निवासी कमल लिङ्थेप हाल हङकङमा छन् । निकै लामो समयदेखि हङकङमा कार्यरत लिङ्थेप विदेशी भूमीमा रहेपनि आफ्नो गाउघर, ठाउँ र देशका लागि हरदम सोचिरहन्छन् ।
बाध्यभई विदेशीएका लिङ्थेप हङकङमा रहेपनि उनको मन नेपालमै रहेको प्रष्ट छ । गाउँ ठाउँमा कोही विरामी होस् वा आर्थिक समस्याको खबर पाउन साथ सहयोगका गर्न तत्पर हुन्छन् सामुदायिक विद्यालयको विकास होस् वा कोही बिरामीको खबर थाहा पाएसम्म उनले सहयोग नपठाएको बिरलै होला । हालसम्म उनले ४० लाखभन्दा बढी सहयोग नेपालमा पठाइ सहयोग गरिसकेका छन् । गरीब तथा विपन्न वर्गका व्यक्तिहरुको पीर, मर्का र समस्यालाई आफ्नै ठानेर सहयोगी भावना राख्ने उनि सामाजिक कार्यहरुमा सदैव अग्रसर भएको प्रष्ट छ । सामाजिक कार्य गर्दा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्रको हितमा लाग्नु पर्ने उनको भनाई छ ।
लिङ्थेपले युवा प्रतिभा प्रस्फुटन कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् भने उर्लाबारी-८ को शान्ति क्षेत्र आधारभूत विद्यालयमा बुवाआमाको नाममा ५१ हजार १ सय ३१ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । यस्तै, उर्लाबारी-१ को शारदा माध्यमिक विद्यालयमा ५० हजार युवा प्रतिभा कोषमा सहयोग गरेका छन् । विद्यार्थीहरुलाई स्वीटर, आर्थिक रुपले विपन्न बिरामीहरुको उपचार, सामाजिक सेवाका कामहरु लगायत धेरैमा उनले सकेको आर्थिक सहयोग गरिरहेका छन् ।