उर्लाबारी २७ माघ
मोरङको उर्लाबारी ९ दुर्गापुरीमा पाँच दिन सम्म ‘सोनाम ल्होसार साँस्कृतिक महोत्सव’को आयोजना हुने भएको छ ।
नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा यहि माघ २५ गते देखी २९ गते सम्म बृहत सोनाम ल्होसार साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको हो । आयोजक संस्थाका कार्यक्रम संयोजक गोपाल घिसिङका अनुसार हरेक बर्ष ल्होसारको अवसरमा बृहत कार्यक्रम गरिदै आएको र यसबर्ष पनि निरन्तरता दिईएको बताए । महोत्सवका सचिव बिजय घिसिङले कार्यक्रमको तयारी ब्यापक गरिएको बताए । महोत्सवमा तामाङ जाति लगायत बिभिन्न जातजातिका झाँकी, कलासंस्कृति प्रस्तुत गरिने तयारी भइरहेको छ । आयोजकका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने र महोत्सवका लागि रोटेपिङ लगायतका खेल समाग्री झरिसकेको र स्टलहरुको काम भईरहेको छ ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ । ल्होछारको अवसरमा परदेश गएका आफन्त घरमा आउने, कुलकुटुम्ब, इष्टमित्र एवं चेलीबेटीलाई बोलाएर मिठामिठा पकवानहरु खुवाउने, नयाँ कपडा लगाउने र परम्परागत लोकसंस्कृतिले भरिपूर्ण गीतसंगीतमा नृत्य गर्दै रमाइलो गरिने भएको हुदाँ यसले सामाजिक महत्त्व राख्दछ । किंवदन्ती अनुसार भगवान बुद्धको आयु सकिएर जब स्वर्ग फर्कने समय भयो, त्यस बखत बुद्धले पृथ्वीलोक छोड्नु अघि पृथ्वीका सम्पूर्ण प्राणीहरुलाई अन्तिम भेटका निमित्त आमन्त्रण गर्नुभयो । भगवान बुद्धको निमन्त्रणा स्वीकार गर्दै अन्तिम दर्शनका निमित्त १२ ओटा जीवजन्तूहरु पुगे । ती जनावरहरुमा क्रमशः मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बदेल थिए ।
आफ्नो विदाईका लागि आएका यी १२ ओटै जीवजन्तूहरुलाई बुद्धले आफ्नो अनुपस्थितीमा पृथ्वीमा मुसादेखि बदेलसम्म क्रमशः पालैपालो शासन गर्न आदेश दिनुभयो । यसै समयदेखि मुसादेखि बदेलसम्मका १२ ओटा जीवजन्तूहरुको नामबाट ‘ल्हो’ वर्ष गन्ने प्रचलनको सुरुवात भएको भन्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय