विजय धिमाल
उर्लाबारी १३ फागुन
उर्लाबारी नगरपालिका क्षेत्रमै अग्रणि संथागत विद्यालय पशुपति आवासीय माविले विद्यार्थीहरुको अन्तर्निहित कलालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको फुड फेस्टिबल धुमधामसँग सम्पन्न भएको छ ।
उर्लाबारी-७ स्थित विद्यालय परिसरमा आयोजना गरिएको ‘पशुपति फेष्ट २०८०’ मा विद्यार्थीहरुले आफ्ना विविध कलाहरु प्रस्तुत गरेका थिए । विद्यार्थीले तयार गरेका खाजा सामग्री किन्न अभिभावक तथा आगन्तुकहरुको भीड थियो । साँस्कृतिक तथा सांगीतिक कार्यक्रम, बालबालिकाको फेसन शोसँगै विभिन्न खेल तथा मनोरञ्जनका स्टल र खानाका स्टल राखिएको थियो । कार्यक्रममा कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले विविध खेल तमासाको स्टल संचालन गरेको थियो । विद्यार्थीले परिकारहरुको स्टल संचालन गर्नुका साथै कक्षा १२ का विद्याथीले स्वास्थ्य चेकजाँचको शिविर राखि आगन्तुकहरुको सुगर, प्रेसरलगायत जाँच गरिएको थियो । खानापिनको सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक सिकाईले विद्यार्थीको आत्मविश्वास जगाउने भएकाले विगत वर्षझै यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको प्रिन्सिपल कार्कीले बताए । कार्यक्रममा नर्सरीदेखि कक्षा ११ सम्मका विद्यार्थीले नृत्य, गायनलगायत स्टेज प्रस्तुति देखाएको थियो ।
कार्यक्रममा गत वर्षको एसईईमा विद्यालयकै उत्कृष्ट अंक ल्याउन सफल कोमल गुप्तालाई नगद ४९ हजार २ सय ५० राशीसहित सम्मान गरिएको थियो । प्ले ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालित पशुपति आमाविमा हाल १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।