शौचालय गएकी एक नाबालिकाको निर्मम हत्या

विजय धिमाल
मोरङ २२ फागुन
मोरङको पथरीशनिश्चरेमा शौचालय गएकी एक जना बालिकाको सोमबार राति निर्मम तरिकाले हत्या भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राई राति १० बजे हत्या भएको हो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ को पञ्चायत माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत थिइन् । ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल सञ्चालन गर्दै आएको छ । २ वर्ष अघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेको डीएसपी दाहालले जानकारी दिए । बुवा दानबहादुर राईको भने निधन भइसकेको हो । दाहालका अनुसार सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्ड भित्र राति १०स्३० बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरेर बालिकाको विभत्स तरिकाले हत्या गरेको पाइएको छ । ‘पटक–पटक हतियार प्रहार गरेर निर्मम तरिकाले बालिकाको हत्या गरिएको छ । एकदमै विभत्स अवस्थामा घरको परिसरमा शव भेटिएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानपछि खुल्ने।’ हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी दाहालले बताए ।
‘घर परिसरमै रहेको शौचालय जाने क्रममा बालिकामाथि हतियार प्रहार भएको भनिएको छ । चिच्याएको आवाज आएपछि हेर्न जाँदा बहिनीको ढुकढुकी मात्रै थियो भनेर दाजु विनोदले भनेका छन्,’ उनले भने, ‘दाजुले घटना थाहा पाएको केहीबेरमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना हुँदा दाजु–भाउजू भने सुतिसकेको पाइएको उनको भनाइ छ । प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियोे । तर, हालसम्म हत्यामा संलग्न र घटनाका बारेमा थप सूचना एवं जानकारी प्राप्त हुन नसकेको डीएसपी दाहाल बताउछन् । ‘हत्या कसले र किन गरेको हो भन्ने खुलिसकेको छैन । हत्यामा संलग्नको खोजी तीव्र पारिएको छ,’ उनले भने, ‘मिहीन ढंगले विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ । कुनै चिनजानकै व्यक्तिले घटना गराएको हो कि भन्ने आशंका छ ।’ प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
डीएसपी दाहालले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने उल्लेख गरे । उनका अनुसार घटनास्थलबाट संकलन गरिएको सबुत प्रमाणलगायतलाई केलाएर अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजीमा प्रहरी जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय