
उर्लाबारी ३ भदौ
मोरङको उर्लाबारी स्थित डिम मोडलिङ एजेन्सी एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि र द अर्ट क्रेयटरको आयोजनामा जुनियर मिस्टर र मिस उर्लाबारी २०८१ प्रतियोगिता सञ्चालन भइरहेको छ ।
यस प्रतियोगितामा महिला तर्फ ३४ जना र पुरुष तर्फ १२ जना गरी जम्मा ४६ जना सहभागी रहेका छन् । तर यो कार्यक्रम विवादास्पद बन्दै गएको छ । प्रतियोगितमा सहभागी छोरीको बुवा एक अभिभावकले भने, यस्ता प्रतियोगिताहरू मोटो रकम असुल्ने माध्यम बन्दै गएको र सहभागीहरूबाट ठूलो रकम उठाएर आयोजकहरूले फाइदा लिइरहेका छन् ।
एक सहभागी युवतीका अभिभावकले नाम नखुलाउने शर्तमा बताए, हामीले सहभागिताको लागि ठूलो रकम तिर्नुपर्यो । त्यसमाथि पोशाक र तयारीको खर्च पनि छुट्टै । यो साँच्चै नै महँगो सौदा हो, छोरीको इच्छा र चाहनाले अप्ठ्यारोमा परेको बताए, सुनिन्छ एक परिवारले आफ्नो सन्तान जिताउन सत्तरी हजारको भोटहाले भन्ने, यो सुरुवाती फेसमै भोटिङ कसरी ? फिनाले सम्म आईपुग्दा १० वा १५ जनामा हुनुपर्ने ४६ जनामै भोटिङको सुरु कसरी हुन्छ ? यो सरसर्ती हेर्दा आर्थिक असुल्नेबाहेक अरु के हुन्छर अभिभावकको भनाई रहेको छ ।
उता स्थानीय प्रशासनले नानिहरुको प्रतिभा प्रस्फुटन र क्षमता विकासका लागि दिएको अनुमति हो रकम असुल्ने र कमाउ धन्दाकालागी हैन एक अधिकारीले भने, हामीले यस्ता कार्यक्रमहरूको अनुगमन गरी कारवाहीको दायरामा ल्याउने छौ । कुनै गैरकानूनी गतिविधि भएको पाइएमा कारबाही गर्न पछि नहट्ने बताए ।
आयोजक संस्थाका प्रतिनिधि भन्छन्, हामीले कानून सम्मत तरिकाले कार्यक्रम आयोजना गरेका छौं । यसले नानिहरूको आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्दछ । जुनियर मिस्टर र मिस उर्लाबारी २०८१ प्रतियोगिताले स्थानीय समुदायमा बहस सिर्जना गरेको छ । यसले नानिहरुको प्रतिभाहरूलाई अवसर प्रदान गर्ने दाबी गरे पनि, आर्थिक शोषण र नैतिक प्रश्नहरू उठिरहेका छन् । स्थानीय सरकार र समाजले यस्ता कार्यक्रमहरूको नियमन र निगरानी गर्नुपर्ने आवाजहरू उठेका छन् ।