उर्लाबारी ३ फागुन
मोरङको उर्लाबारी ६ मा अवस्थित रधिका  माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा सम्पन्न भएको छ ।
सरस्वतीको मूर्तिको अनावरण, सरस्वती पूजा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकको अनावरण, पूर्वविद्यार्थी, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षकको सम्मान लगायत छात्रवृत्ति वितरण, विज्ञान प्रदर्शनी र पुस्तक विमोचन गरी कार्यक्रम सम्पन्न गरिएको हो । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, राजनीति, खेलकुद, प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्याउने दर्जनौं पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो ।
पूर्वविद्यार्थीहरु डा. दानबहादुर कार्की, डा. हेमसागर रिमाल, राष्ट्रिय सभाका पूर्व सांसद खेम नेपाली, प्रदेश सांसद विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका पूर्व मेयर खड्ग फागो, पथरीशनिश्चरे नगरपालिकामा पूर्व मेयर दिलिपकुमार राई, पूर्व उपमेयर यमुना बिष्ट बास्तोला, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय पदक विजेता ललित धिमाल, पूर्व राष्ट्रिय भलिबल खेलाडी अञ्चल धिमाल लगायतलाई सम्मान गरिएको थियोे ।
सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमू लिम्बूको लगानीमा निर्माण गरिएको सरस्वती मन्दिर र शिक्षक यज्ञ दाहालको लगानीमा बनेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरणसमेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोमूको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेललगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै विद्यालयको अवस्थाका बारेमा प्रधानाध्यापक कुमार पोख्रेलले जानकारी गराउनुभएको थियो भने विद्यालयको आयव्यय विवरण सहायक प्रधानाध्यापक रुद्रप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय